Nepal turns to renewable energy.
नवीकरणीय ऊर्जाको भर
पिताम्बर सिग्देल
हाम्रो देशमा भने ऊर्जाका पर्याप्त स्रोत हुँदाहुँदै पनि त्यसको वैज्ञानिक सदुपयोग हुन सकेको छैन। बिजुली, दाउरा, मट्टितेललगायतबाट प्राप्त गर्ने शक्ति नै ऊर्जा हो। त्यस्तै गाडी चलाउन प्रयोग हुने पेट्रोल, घट्ट चलाउने पानी, लुगा सुकाउने घामको ताप ऊर्जाका स्रोत हुन्। मुलुकमा एकातिर ऊर्जाको अभाव छ भने अर्कातिर ऊर्जाका स्रोत त्यत्तिकै खेर गइरहेको अवस्था छ। यी स्रोतको प्रयोगमा सरकारले ध्यान दिँदै जनतालाई आकर्षित गर्न सके ऊर्जाका अपार सम्भावना उपभोग गर्न सकिन्छ।
आधुनिक जीवनशैलीसँगै ऊर्जाको खपत बढ्दो छ।
ढुंगेयुगमा एकजना मानिसले वार्षिक एक सय वाट ऊर्जा खपत गर्ने गरेका तथ्य भेटिन्छ। मध्य युगमा मानिसले वार्षिक एक हजार वाट ऊर्जा प्रयोग गथ्र्यो। अहिले प्रत्येक नेपालीले करिब पाँच सय वाट ऊर्जा खपत गर्छ। नेपाली समाजमा ऊर्जाका लागि दाउरा, मट्टितेल, कोइला, गोबर तथा कृषिजन्य सामग्री, ग्यास, बिजुलीलगायत मुख्य रूपमा प्रयोग भइरहेको छ।
ऊर्जा खपतको अवस्था
नेपालको ८० प्रतिशतभन्दा बढी जनसंख्या ग्रामीण भेगमा बस्छ। परम्परागत ऊर्जाका स्रोत दाउरा, कृषिजन्य अवशेष गुइँठा, गोबर नै मुख्य रूपमा त्यहाँ प्रयोग हुन्छन्। नेपालमा खपत हुनेमध्ये करिब ८७ प्रतिशतभन्दा बढी ऊर्जा यिनै परम्परागत ऊर्जा स्रोतबाट प्राप्त भइरहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको तथ्यांक छ। यसको अर्थ परम्परागत ऊर्जाका स्रोतको प्रयोग बढ्दा वातावरणीय विनाश भइरहेको छ। वनजंगलको फडानी भइरहेको छ। यसका कारण बाढीपहिरो, भूक्षयका घटना बढेका छन्।
अर्कोतर्फ खेतबारीमा मलको रूपमा प्रयोग गरिने गोबर कृषिजन्य अवशेष ऊर्जाका रूपमा प्रयोग हुँदा कृषि उत्पादनमा समेत ह्रास आइरहेको छ। यसले वातावरणमा समेत नकरात्मक असर परेको छ। कृषि उत्पादन बढाउन प्रयोग हुने रासायनिक पदार्थले मानव स्वास्थ्यमा असर गरिरहेको छ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार नेपालमा खपत हुने विभिन्न ऊर्जाको माग हेर्दा करिब ७७ प्रतिशत दाउराबाट पूरा भइरहेको छ। कृषिजन्य अवशेषबाट ३.६५, गाईबस्तुको गोबरबाट ५.८५ प्रतिशत ऊर्जा प्राप्त भइरहेको छ। त्यस्तै कोइलाबाट ३, तैलीय स्रोतबाट ९.३५, जलविद्युत्बाट १.९५ प्रतिशत ऊर्जा प्राप्त भइरहेको छ।
ऊर्जा स्रोतको केन्द्रीकरण तथा प्राकृतिक सम्पदाको दोहनका कारण विभिन्न विपत्ति आउने खतरा बढेको वैज्ञानिकहरूले औंल्याइरहेका छन्। वातावरणीय खतरा, विश्व तापमान वृद्धि, हिम रेखा स्थानान्तरको खतरा, जैविक विविधता नष्ट हुने, अम्लीय वर्षा तथा हिमताल विस्फोट नेपालका लागि मुख्य खतरा हुन्। अन्य देशमा समुद्री सतह बढ्ने, तेलजन्य प्रदूषणका समस्या पनि उत्पन्न भइरहेका छन्। यी सबै समस्यालाई निराकरण गर्दै वातावरण जोगाउन तथा ऊर्जा उपलब्धता बढाउन नवीकरणीय ऊर्जा सबैभन्दा उत्तम विकल्प हो। ‘हामीले अनुदान बढाउँदै लगे देशका सबै वर्ग र समुदायसमक्ष नवीकरणीय ऊर्जा पुर्याउन सक्छौं’, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक गोविन्दराज पोखरेल भन्छन्।
के हो नवीकरणीय ऊर्जा?
प्रकृतिमा निरन्तर प्राप्त भइरहने र प्रयोग गर्दा वातावरणीय असर कम हुने ऊर्जा स्रोतलाई नवीकरणीय ऊर्जा भनिन्छ। यस्ता ऊर्जाको खपत जति धेरै भए पनि रित्तिने डर हुँदैन। त्यसैले पनि संसारभरि यस्ता ऊर्जाका स्रोतलाई प्राथमिकता दिइँदै आएको छ। नवीकरणीय ऊर्जाका स्रोत स्थानीय तहमा पर्याप्त पाइन्छ। ‘हाम्रै वरिपरि यस्ता स्रोत छन्। यिनको वैज्ञानिक व्यवस्थापनमात्रै अहिलेको चुनौती हो, स्थानीय निकायलाई सशक्त बनाउँदै लैजान आवश्यक छ’, पोखरेल औंल्याउँछन्। त्यस्तै यस्ता ऊर्जामा विदेशी लगानी र हस्तक्षेपको सम्भावनासमेत हुँदैन।
नवीकरणीय ऊर्जाका विभिन्न स्रोत छन्। जैविक ऊर्जा, जलशक्ति ऊर्जा, सौर्यशक्ति ऊर्जा, वायुशक्ति ऊर्जा, भूगर्भीय ऊर्जा, समुद्री छाल ऊर्जा, हाइड्रोजन ऊर्जा आदि संसारमा बढी प्रयोग भइरहेका स्रोत हुन्। यसमध्ये जैविक ऊर्जा पृथ्वीको सतहमा रहेको पिण्डको एउटा सानो हिस्सा हो। यो ऊर्जा सबैतिर धेरै परिमाणमा फैलिएको छ। सौर्यशक्तिको एउटा सानो अंश प्राप्त यो ऊर्जाको मुख्य स्रोत सौर्यशक्ति हो।
नेपालमा जैविक ऊर्जाका रूपमा गोबरग्यास, कृषिजन्य कामबाट खेर गएका पदार्थ, जैविक तेल (वनस्पति तथा फलफूल प्रशोधन गरेर निकालिने तेल) आदि प्रयोगमा छन्। त्यस्तै दाउराबाट खाना पकाउने, सुधारिएको चुलो आदि पनि जैविक ऊर्जाभित्रै पर्छन्। जलशक्तिअन्तर्गत सुधारिएको घट्ट, लघुजलविद्युत् ऊर्जाका स्रोतका रूपमा प्रयोग भइरहेका छन्। सौर्य शक्तिबाट भने सौर्य ताप, सौर्य बाकस चुलो, सौर्य पानी हिटर, सौर्य ड्रायर, सौर्य बिजुली मुख्य हुन्। संसारका धेरै देशमा वायु ऊर्जा महत्त्वपूर्ण स्रोतका रूपमा रहेको छ। नेपालमा भने यसको धेरै उपयोग हुन सकेको छैन। नेपालका लागि जैविक ऊजासँगै सौर्य र वायु ऊर्जा उपयोगी हुन्छन्। वातावरणमैत्री ऊर्जाका यी स्रोत प्रयोग गरेर विकसित देशले ऊर्जा अभाव पूरा गरिरहेका छन्। तर, नेपालमा भने परीक्षणका रूपमा यी ऊर्जा प्रयोग भइरहेको अवस्था छ।
वायु ऊर्जा
हावाको गतिमा रहेको शक्तिलाई वायु ऊर्जा भनिन्छ। वायु ऊर्जालाई परम्परागत रूपमा विभिन्न तरिकाबाट प्रयोग गरिए पनि हावा आधुनिकीकरण भइसकेको छैन। यसबाट विद्युत् उत्पादन गर्दा इन्धनको बचत हुन्छ भने प्रदूषण हुँदैन।
पछिल्लो अध्ययनअनुसार नेपालमा हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ। भौगोलिक र प्राकृतिक रूपमा नेपाल वायु ऊर्जाको अपार सम्भावना भएपछि सरकारी बेवास्ताका कारण यसको सदुपयोग हुन सकेको छैन। नेपालका धेरै स्थानमा चल्ने हावाको प्रकृति र बेगका कारण पनि नेपाल वायु ऊर्जाका लागि आकर्षक स्थान मानिन्छ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमसँग मिलेर गरेको एउटा अध्ययनले नेपालमा तीन हजार मेगावाट वायु ऊर्जा सजिलै निकाल्न सकिने बताएको छ। तर, भौगोलिक विकटता र यातायातको असुविधा प्रमुख समस्या रहेको निष्कर्ष छ। विज्ञहरूका अनुसार मुस्ताङको कागबेनी, भक्तपुरको थिमी, नगरकोट, पाल्पा तथा रामेछाप वायु ऊर्जाका लागि सबैभन्दा उपयुक्त स्थान हुन्। यी स्थानमा सजिलै र छिटो धेरै वायु ऊर्जा उत्पादन गर्न सकिन्छ। तर, सरकारले यसको दस प्रतिशत क्षेत्रमा मात्रै उत्पादन सम्भावनाका बारेमा विस्तृत अध्ययन गरेको छ। सबैभन्दा धेरै सम्भावना संरक्षण क्षेत्र तथा मध्य र उच्च पहाडी भेगमा छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका ऊर्जा इन्जिनियर प्रकाश अर्यालका अनुसार नेपालमा वायु ऊर्जा सस्तो र छिटो हुन्छ।
तीव्र गतिमा हावा चल्ने ठाउँमा टर्वाइन जडान गरी वायु ऊर्जा उत्पादन गरिन्छ। विकसित देशहरूले ऊर्जा उत्पादनका लागि सबैभन्दा धेरै प्राथमिकता वायु ऊर्जालाई दिएका छन्। मुस्ताङबाट मात्रै सय मेगावाट क्षमता बराबरको वायु ऊर्जा निकाल्न सकिन्छ। हालैमात्र ऊर्जाविज्ञ अमृतसिंह थापासहितको टोलीले गरेको प्राविधिक स्थलगत अध्ययनले मुस्ताङमा सय मेगावाट ऊर्जा निकाल्न सकिने प्रमाणित गरेको हो। तीन हजार ५४ मिटर अग्लो मुस्ताङको ताङवे गाउँमा ५० मिटर अग्लो टावर राखेर अध्ययन गरिएको थियो।
वायु ऊर्जा छिटो र वातावरणमैत्री हुन्छ। यो छोटो समयमा धेरै उत्पादन गर्ने गरी जडान गर्न सकिन्छ। सरकारले सिंहदरबारभित्र तथा काठमाडौंका केही सडकमा बीस मेगावाटको वायु ऊर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग ठूला विदेशी कम्पनीले समेत वायु ऊर्जा उत्पादनका लागि इच्छा देखाएका छन्।
अहिले नेपालमा ११ वटा विभिन्न ठाउँमा वायु ऊर्जा उत्पादन भइरहेको छ। सरकारले थप केही स्थानमा उत्पादनको तयारी गरेको छ। वायु ऊर्जामा अनुदान दिने नीतिको मस्यौदा पनि सरकारले तयार पारेको छ। सन् १९८९ मा नेपाल सरकारले नेपालमा मुस्ताङको कागवेनीमा दस किलोवाटको वायु ऊर्जाका लागि टर्वाइन राखेको थियो। तर, त्यसको तीन महिनामै त्यो बिग्रेको थियो। त्यसैगरी सन् २००२ मा कीर्तिपुर र झापामा दुई ठाउँबाट वायु ऊर्जा उत्पादनको प्रयास भएको थियो। तीन सय वाट प्रतिवर्गमिटर वायु ऊर्जाका लागि उपयुक्त। तीन मिटर प्रतिसेकेन्डबाटै व्यावसायिक उत्पादन गर्न सकिन्छ।
सौर्य ऊर्जा
परापूर्व कालदेखि नै मानिसहरूले सूर्यबाट प्राप्त हुने शक्तिलाई विभिन्न रूपमा प्रयोग गरिरहेका छन्। जाडोमा घाम ताप्न, लुगा, दाउरा सुकाउन सूर्यकै ताप प्रयोग गरिन्छ। यो नवीकरणीय ऊर्जाको प्रमुख स्रोत हो। सौर्य ऊर्जाको ताप शक्ति र प्रकाशलाई विभिन्न प्रविधिको सहयोगले मानवका लागि उपयोगी हुने गरी संग्रह गरेर प्रयोग गर्न थालिएको छ। सौर्य ऊर्जामा भएको ताप शक्ति प्रयोग गरी खाना पकाउन, बिस्कुन सुकाउन, ड्रायर चलाउन, पानी तताउन प्रयोग भइरहेका छन्। त्यसैगरी सौर्य ऊर्जाबाट प्राप्त बिजुलीबाट रेडियो टीभी तथा बत्ती बाल्ने, पानी तताउने, पंखा चलाउनेलगायतका काम भइरहेका छन्।
परम्परावादी सोच बाधक
नेपालको ऊर्जा क्षेत्र परम्परावादी सोच र प्रविधिको पछि लागेका कारण ऊर्जा क्षेत्रमा प्रगति हुन सकेन। अहिले पनि नीतिनिर्माता तथा राजनीतिक नेतृत्व जलविद्युत्भन्दा अर्को विकल्पमा सोच्न तयार छैनन्। नेपाल भौगोलिक तथा प्राकृतिक रूपमा नवीकरणीय ऊर्जाका लागि उपयुक्त स्थान हो। तर, यसमा सरकारको प्राथमिकता नहँुदा उल्लेखनीय प्रगति भएको छैन। विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन नीति बनाए पनि त्यसको कार्यान्वयनमा धेरै समस्या देखिएका छन्। पछिल्लो दशकमा नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। तर, यो पर्याप्त भने छैन। सरकारले अनुदान नीति ल्याएर ग्रामीण भेग तथा पिछडिएको वर्गमा ऊर्जा पहुँच पुर्याउन विशेष जोड गरेको छ। तर, ठूलो परिमाणमा ऊर्जा उत्पादन गर्नेतर्फ भने सरकारको ध्यान छैन। त्यसअनुसारको नीतिसमेत सरकारले बनाएको छैन। ‘नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ तर यो पर्याप्त भने होइन’, केन्द्रका सहनिर्देशक राजु लौंडारी भन्छन्। ग्रामीण र सहरी भेगमा नवीकरणीय ऊर्जाका विभिन्न स्रोत फरकफरक रूपमा प्रयोग गर्दै ऊर्जा अभाव टार्न सकिने लौडारीको तर्क छ।
अहिले विश्वको १६ प्रतिशत ऊर्जा नवीकरणीय ऊर्जाको स्रोत हो। खासगरी विकसित देशहरू नवीकरणीय ऊर्जामा गइसकेका छन्। मानव स्वास्थ्य तथा वातावरणका दृष्टिले समेत सुरक्षित नवीकरणीय ऊर्जा अभियान चलाउनुको विकल्प पनि अब छैन। अहिले पनि संसारमा दुई लाख ३८ हजार मेगावाट ऊर्जा वायुबाट मात्रै प्राप्त भइरहेको छ।
८० प्रतिशतभन्दा बढी नागरिक गाउँमा बस्ने नेपालमा प्रतिव्यक्ति ऊर्जा खपत विश्वव्यापी मापदण्डभन्दा धेरै तल छ। नेपालको ऊर्जा क्षेत्रमा परम्परावादी स्रोतकै दबदबा छ। अहिले नेपालमा जम्मा ४० प्रतिशत जनताको पहुँचमा मात्रै बिजुली छ। ग्रामीण विद्युतीकरणको पहुँचमा जम्मा २९ प्रतिशतमात्रै छ। अधिकांशले आफ्नो ऊर्जा आवश्यकता चुल्होमा दाउरा तथा गुइँठा बालेर पूर्ति गरिरहेका छन्। यसको ठूलो आर्थिक, वातावरण तथा स्वास्थ्यमा प्रभाव परिरहेको छ। लघुजलविद्युत् आयोजनाबाट सय मेगावाट बिजुली निकाल्न सकिन्छ तर अहिले आठ सय चार आयोजनाबाट १६ मेगावाटमात्रै निस्किएको छ। त्यस्तै बायोग्यास प्लान्ट ११ लाख जडान गर्न सकिन्छ तर अहिले तीन लाखमात्रै छ। अध्ययन क्षेत्रबाट मात्रै वायु ऊर्जाबाट तीन हजार मेगावाट बिजुली निकाल्न सकिन्छ तर अहिले पाइलट परियोजनामात्रै छ। नेपालमा २५ हजार पानीघट्ट बनाउन सकिन्छ, अहिले आठ हजारमात्रै सुधारिएका घट्ट छन्। नेपालमा नवीकरणीय ऊर्जालाई वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्न सके ऊर्जा क्षेत्रको विकास छिटो हुन्छ। यसका अथाह सम्भावना छन्।